बन्दीपुर गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गराइएको छ।
विद्यालयमा कार्यरत दुई शिक्षक र सात जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले विद्यालयको पठनपाठन बन्द गराएको हो।
कोभिड–१९ को जोखिम थप बढ्न सक्ने हुँदा आजदेखि पुस ७ गतेसम्म भौतिक उपस्थितमा कक्षा सञ्चालन बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
साथै अन्य विद्यालयलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न, शैक्षिक भ्रमण, वार्षिकोत्सवलगायतका उच्च संख्यामा भौतिक उपस्थिति हुने कार्यक्रम नगर्न गाउँपालिकाले अनुरोध गरेको थापाले बताए। रासस