चितवन, पुस ७ । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि यही पुस ३० गतेदेखि माघ १० गतेसम्म खैरहनीको गौचरनमा खिचरा महोत्सव हुने भएको छ ।
महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने आठौँ खिचरा महोत्सवमा यस पटक स्थानीय थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाई समेत मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापित चुडामणी चौधरी बताए ।
महोत्सव माघ १० गतेसम्म चल्ने छ । नाफामुखीभन्दा पनि था रु समुदायको भाषा, संस्कृति, पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएका कारण महोत्सवलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको आयोजकले बताएको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा थारुको मौलिक खाना चिचर, पोका, घुँगी, माछा, हाँसलगायत विभिन्न परिकार रहनेछ ।
कोभिडका कारण रोकिदै आएको महोत्सव यस वर्ष हुन लागेको हो । यसैबिच महोत्सवको आठौँ संस्करण लागी चुडामणी चौधरीको संयोजकत्वमा ११ जना मुल आयोजक समिति गठन गरिएको छ ।
मुल आयोजक समितिको आर्थिक संयोजकमा जित बहादुर चौधरी, स्टल, मञ्च, कृषि, शौचालय तथा गेट व्यसस्थापनमा रामचन्द्र चौधरी, टिकट सचिवालयमा दिप नारायण राउत, सांस्कृतिक, झाँकी, कलाकार तथा सोभा र्याली व्यवस्थापनमा विक्रम चौधरी, पार्किङ तथा खेलकुद व्यवस्थापनमा सानु चौधरी, खानेपानि तथा विद्युत व्यवस्थापनमा विष्णु चौधरी, सुरक्षा तथा स्वयमसेवक व्यवस्थापनमा सरोज चौधरी, आन्तरिक पर्यटन तथा यातायात व्यवस्थापनमा रामेश्वर चौधरी, प्रचार प्रसार विभाग प्रमुखमा जितेन्द्र चौधरी र छपाई तथा मसलन्द व्यवस्थापनमा छन्नु चौधरी रहेका छन् ।