चितवन, पुस ८ । विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन्। कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन्।
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा यही पुष २७ गतेदेखि रत्ननगर महोत्सव–२०७८ हुँदैछ।
आयोजक रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरी यही पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुन लागेको जानकारी दिएको छ। ११ औं महोत्सव यसपटक पनि रत्ननगर प्रवेशद्धार टिकौली चौरमा आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले जानकारी दिए।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको प्रदर्शन, स्थानीयस्तर, राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराराष्ट्रिय गरि करिव ३ सय ५० वटा स्टल रहने छ। यसपटक महोत्सवमा तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १५ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।
यस्तै महोत्सवमा पर्यटन प्रवद्र्धन अन्तर्गत जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरु सौराहा, टिकौली होमस्टे, चेपाङ वस्ती र समाजसंग साक्षात्कार हुन पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजारी ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचारप्रसारको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ।
सुरक्षाको दृष्टिकोणले महोत्सवलाई पूर्ण अत्याधुनिक सीसी टिभीबाट निरिक्षण गरिनेछ भने रु ५ करोड बराबर विमाको व्यवस्था गरिएको छ।
महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ। जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोन गर्न सक्ने आयोजकले जनाएको छ।
चिकेन एण्ड एग फेस्टिबल
रत्ननगर महोत्वसमा पछिल्लो वर्षहरुमा नियमित जसो फेस्टिबल समेत आयोजना गर्ने गरिएको छ। जसअन्तरगत यसवर्ष पनि रत्ननगरको टाँडी बजारमा मासु र अण्डाको खपत बढाउन चिकेन एण्ड एग फेस्टिबल आयोजना गरिएको छ। फेस्टिबल पुस २९ गतेदेखि माघ ३ गतेसम्म पाँच दिनसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले दिए।