जहिले भए पनि ‘इलेक्सन’ हुन्छ, भएपछि विपक्षीलाई धोबीपाट लगाइन्छ: केपी ओली

विराटनगर, पुस १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्लि इलेक्सन धेरै ठूलो कुरा नभएको भन्दै जहिले भए पनि इलेक्सन हुने र इलेक्सनमा विपक्षीलाई धोबीपाट लगाउने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा चुनाव कहिले हुन्छ भन्ने संचारकर्मीहरूको प्रश्नमा ओलीले भने, ‘जहिले भए पनि इलेक्सन हुन्छ, इलेक्सन भएपछि धोबीपाट लगाइन्छ ।’

उनले निर्वाचनसम्म संसद् चल्न नदिइने संकेत गर्दै आफूहरू विरोधमै रहेको बताए । ओलीले कुन तहको निर्वाचन पहिले गर्ने भन्ने बिषय सरकारको सरोकारको बिषय भएको भन्दै आफुहरू निर्वाचनमा केन्द्रित रहेको संकेत गरे ।

‘संसद चलिरहेको छ, हामीले विरोध गरिरहेका छौं, बलजफ्ती गर्ने बानी परेकाहरूले बलजफ्ती गरिरहेका छन्’ ओलीले भने, ‘कुन तहको चुनाव भन्नेमा सरकारलाई सोध्नुस्, चुनाव हुनुपर्छ ।’

उनले एमसीसीको बिषयमा एमालेले क्यै बोल्नै नपरेको बताएका छन् । उनले गठबन्धनका दलहरूले नै एमसीसी सम्झौता गरे पनि अहिलेसम्म त्यसका विषयमा औपचारिक धारणा सार्वजनिक गर्न नसकेको बताए ।

‘अहिले सरकारको पोलिसी के हो भन्ने बताउनु भएको छैन, यसो गरौं भनेर सरकारको तर्फबाट त आएको छैन’ उनले भने, ‘व्यक्तिगत तवरमा कुरा गरिरहनु भएको छ, गठबन्धनको त केही नीति हुने होला नि ?’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पूर्वराजा ज्ञानेन्द्रसँग साँठगाँठको आरोप लगाउँदै आएका ओलीले त्यसको प्रमाणहरू आफैँ निस्किइरहेको दाबी गरे । दाहालले प्रमाण पेश गर्न दिएको चुनौतिबारे टिप्पणी गर्दै ओलीले भने, ‘प्रमाणहरू आफैं फुत्त-फुत्त निस्किएरहेको देख्नु भएको छैन ? उहाँहरूले नै वार्तामा खटाएका मध्यस्थकर्ताहरूले संचार माधयमहरूमा आफैँ गएर बोलिरहेका छन् ।’

दाहाल र ज्ञानेन्द्रबीच पुस १८ गते राती सहमति भएको र ज्ञानेन्द्रले १९ गतेबाट देशव्यापी अभिनन्दन सुरु गरेको ओलीको दाबी छ । ‘तत्कालिन राजा ज्ञानेन्द्रलाई रोल्पा रुकुमसमेतमा अभिनन्दन गर्ने स्थिति त बनाएको थियो नि त, विराटनगरबाटै सुरु भएको थियो, दाहालले त ढाकछोप गरिहाल्नु हुन्छ, पुष्टि अझै पनि भएन भने त कसको के लाग्छ, गर्ने मान्छेले म हो भनेर निक्सिरहेको छ, भनिरहेको छ, त्यसको खण्डन गर्नुपर्‍यो नि, मैले सहमतिको कागज खोजेको होइन, पोलिटिक्स खोजेको हो ।’

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.