सर्लाही, पुस ११ । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ बर्षकी सैफुल खातुनलाई साइकलले ठक्कर दिएको थियो । साइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
यस्तै ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ । पूर्वपश्चिम लोकमार्गस्थित ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा भएको सवारी दुर्घटनामा लालबन्दी नगरपालिका–७, बस्ने ५६ बर्षका भीम गुरुङको ज्यान गएको हो । सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । रासस