चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान

चितवन, पुस ११ । यो वर्ष गणनामा चितवन राष्ट्रिय निकुञ्जसँगै देशभर बाघको संख्या बढ्ने अनुमान गरिएको छ ।

निकुञ्जका तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा मात्रै सन् २००० गरिएको बाघ गणनामा ६० वटा, २००९ मा ९१ वटा, २०१३ मा १२० वटा, २०१८ मा ९३ वटा बाघ रहेका थिए ।

तथ्यांकअनुसार २०१० सम्म विश्वमा ३ हजार बाघ रहेका थिए भने सन् २०२२ सम्म यसको संख्या दोब्बर बनाउने लक्ष्य राखिएको छ । सोहीअनुसार नेपालमा २३५ बाघ रहेका छन् र सन् २०२२ सम्म २५० बाघ पुर्‍याउने लक्ष्य नेपालको छ ।

नेपालमा २००९ मा १२१ वटा, २०१३ मा १९८, २०१८ को बाघगणनामा २३५ वटा रहेका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विगतमा गरिएको गणनामा बाघको संख्या बढ्दै गएको र यो वर्ष गरिएको गणनामा पनि बाघको संख्या बढ्ने अनुमान गरिएको हो ।

चोरीशिकारी कम हुनु, बाघको आहारा सहज उपलब्धता हुनु र प्राकृतिक तथा अन्य कारणले बाघको कम मृत्यु भएकोले यो वर्ष बाघको संख्या बढ्ने अनुमान गरिएको हो ।

‘अहिले बाघको आहारा पनि प्रशस्त भएको पाएका छौं’, उनले भने, ‘मृग प्रजातिका वन्य जन्तुको घनत्व र प्रशस्त पानी र घाँसका स्रोतले पनि योपटक बाघको संख्या अनुमान गर्न सकिन्छ ।’

चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जसहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ ।

अहिलेको बाघ गणनामा चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिएको छ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा भएको थियो ।

तीनवटा ब्लकमध्ये एउटा ब्लकको काम सकियो

मंसिर १९ बाट शुरु गरिएको बाघ गणनामा निकुञ्जको कार्यालयबाट पश्चिमी क्षेत्र त्रिवेणीसम्मको निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको क्यामरा ट्रयापिङ‚ क्याप्चरिङको काम सकिएको कार्यालयले जानकारी दिएको छ ।

(शनिबार) यो क्षेत्रभित्र रहेका क्याम्पका टोली निकुञ्जको कार्यालयदेखि पूर्वी क्षेत्रमा क्यामरा जडानका लागि जाने निकुञ्जका प्रमुख आचार्यले जानकारी दिए ।

‘एउटा ब्लकमा क्याम्प खडा गर्न, क्यामरा जडान गर्न र यसको अनुगमन तथा फोटो संकलन गर्न झण्डै २० दिन लाग्छ’, आचार्यले भने, ‘त्यसपछि अर्को ब्लकमा पनि सोहीअनुसारको समय लाग्छ ।’

अबको २० दिनमा निकुञ्जको कार्यालयबाट पूर्वको मकवानपुर, दक्षिण ठोरीसम्म र पर्साको सीमासम्मको क्षेत्रमा बाघको गणना गर्ने गरिन्छ ।

त्यसपछि सोही टोली पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र र रौतहटको जंगल क्षेत्रमा गणना गर्नेछन् । यसका निकुञ्जका प्राविधिक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, फरेष्ट्री संकायका प्रशिक्षार्थी, नेपाली सेना तथा हात्ती सहितको टोलीले गणना कार्य गरिरहेको छ ।

क्यामरा, जनशक्ति लगायत अन्य स्रोत पर्याप्त नभएकाले सबै ब्लकमा एकैपटक काम गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ ।

‘हामीसँग प्रशस्त क्यामरा जनशक्ति तथा अन्य सीमित स्रोत साधन छन्’, उनले भने, ‘त्यसैले पालैपालो एकपछि अर्को ब्लकको काम गर्नुपर्ने हुन्छ ।’

यो प्रक्रियाका लागि झण्डै ६० दिनको समय लाग्ने गर्दछ। यसपछि सबै क्यामराबाट खिचिएको फोटा एकै ठाउँमा जम्मा गरी विज्ञसहितको टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम गणना सार्वजनिक गर्नेछ ।

बाघ गणना सम्पन्न गर्न करिब चार करोड खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए ।

उनीहरूको प्रतिव्यक्ति १० लाखको बिमा गरिएको छ भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत प्रशिक्षण दिइएको आचार्यले जानकारी दिए ।

बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेलाई तालिम दिइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीसँगै केही हात्ती गणनामा परिचालन हुनेछन् ।

गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेर काम गरिरहेका छन् । १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले गणना प्रक्रिया शुरु भइरहेको जानकारी दिए ।

क्यामरा ट्रयापिङ विधिबाट गरिने बाघ सर्वेक्षण गरिनेछ । चितवनमा ३६० जोडी क्यामरा जडान गरिनेछ । दुई निकुञ्जको एउटा ब्लकमा १६ वटा क्याम्प बनाइएको छ ।

क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ। चार वर्ग किलोमिटरमा एक जोडा क्यामेरा राखेर गणना गरिन्छ ।

बाघ वरिपरि आएमा क्यामराले तस्वीर लिनेछ । झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान निकुञ्जको छ ।

तस्वीर अध्ययनपछि थप चार महिनाभित्र नतिजा आउने उनले बताए। सन् २००८ देखि यहाँ राष्ट्रियस्तरको बाघ गणना सुरु गरिएको हो । दोस्रोपटक सन् २०१३, तेस्रोपटक सन् २०१८ र अहिले चौथोपटक बाघ गणना गर्न लागिएको हो ।

चितवन र पर्सालाई एउटा ब्लक, बाँके र बर्दियालाई दोस्रो ब्लक र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो ब्लक बनाएर बाघको गणना गरिँदै छ ।

सन् २०१० मा रूसमा भएको बाघ पाइने १३ मुलुकका राष्ट्रप्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या २५० पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.