विश्वकप सेमिफाइनलमा अर्जेन्टिना र क्रोसिया भिड्दै, कसले जित्ला ?

मंसिर २७ । विश्वकप फुटबल अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोसियाको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजे कतारस्थित लुसैल स्टेडियममा हुदै छ ।

क्रोसिया र अर्जेन्टिनाबीच अहिलेसम्म कुल ५ खेल भएका छन् । जसमा दुवै देशले २-२ खेल जितेका छन् भने एक खेल बराबरी भएको छ । दुवैबीच पछिल्लो पटक २०१८ को विश्वकपमा खेल भएको थियो । समुह चरणको सो खेल क्रोसियाले ३-० गोल अन्तरले जितेको थियो ।

यस खेललाई अर्जेन्टिनाका लियोनेल मेसी र क्रोसियाका लुका मोड्रीचबीचको भिडन्तको रुपमा पनि हेरिएको छ ।

क्रोसियाको विश्वकप यात्रा:

क्रोसिया समुह एफमा उपविजेत हुदै राउण्ड १६ मा आएको थियो । समुह चरणमा क्रोसियाले एक जित र दुई बराबरी खेलेको थियो । क्रोसियाले पहिलो खेलमा मोरक्कोविरुद्ध गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा क्यानडाविरुद्ध ४-१ गोल अन्तरको जित निकालेको थियो ।

त्यस्तै समुह चरणको अन्तिम खेलमा बेल्जियमविरुद्ध गोलरहित बराबरी खेलेपछि क्रोसिया समुहमा उपविजेता हुदै राउण्ड १६ मा पुगेको थियो ।

राउण्ड १६ मा क्रोसियाको भिडन्त एशियाली देश जापानसँग भएको थियो । यस खेलमा निर्धारित ९० मिनेटमा दुवै तर्फबाट १-१ गोल भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी सुटआउटमा क्रोसियाले जापानलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो ।

क्वाटरफाइनलमा क्रोसिया ब्राजिललाई पेनाल्टी सूटआउटमा पराजित गरेको थियो । निर्धारित ९० मिनेटको समयमा दुवैले १-१ गोलको बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समयको खेल खेलाइएको यस खेलमा अतिरिक्त समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सूटआउटबाट भएको थियो । पेनाल्टी सूटआउटमा क्रोसिया ४-२ ले विजयी हुदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

अर्जेन्टिनाको विश्वकप यात्रा

अर्जेन्टिनाको यस विश्वकपको यात्राको शुरुवात बहने निकै खराब भएको थियो । साउदी अरेबियासँग २-१ को पहिलो खेलको हारपछि अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरामा परेको थियो । तर अर्जेन्टिनाले पुनरागमन गर्दै त्यसपछिका दुवै खेलमा मेक्सिको र पोल्याण्डलाई २-०, २-० को अन्तरले पराजित गरेर समुह विजेताको रुपमा राउण्ड १६ मा प्रवेश गरको थियो ।

त्यसपछि राउण्ड १६ अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डसलाई पेनाल्टी सूटआउटमा पराजित गरेको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २-२ गोल गरेपछि खेल ३० मिनेटको अतिरक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टोलीले कुनै गोल नगरेपछि खेलको निर्णय पेनाल्टी सूटआउटमा भएको थियो । पेनाल्टी सूटआउटमा अर्जेन्टिना ४-३ गोलले विजयी भएको थियो ।

क्रोसिया प्रिभ्यु

क्रोसिया आफ्नो छैटौं विश्वकप खेलिरहेको छ । यसक्रम क्रोसिया गत २०१८ को विश्वकपमा उपविजेता बनेको थियो । यसरी क्रोसिया तेस्रो पटक कुनै विश्वकपको क्वाटरफाइनलमा खेल्दै छ । यस अघि २००२, २००६ र २०१४ को विश्वकपमा क्रोसिया समुह चरणबाटै बाहिरिएको थियो भने १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो ।
फिफा वरियतामा १२औं स्थानमा रहेको क्रोसिया जलाटीको डालिकको प्रशिक्षणमा विश्वकपमा सहभागी हुदै छ । उनी २०१७ देखि क्रोसियाको प्रशिक्षक रहेका छन् ।

उनको नेतृत्वमा क्रोसियाले अहिलेसम्म ६८ खेल खेलेको छ भने ३३ खेलमा जित र १८ खेल बराबरी खेलेको छ । त्यस्तै १७ खेलमा हार बेहोरेको छ । उनकै नेतृत्वमा क्रोसिया विश्वकप २०१८ को उपविजेता बनेको थियो ।

क्रोसियामा धेरै स्टार खेलाडी रहेका छन् । तर यस विश्वकपमा क्रोसियाका स्टार खेलाडी ३७ बर्षिय कप्तान लुका मोड्रीच हुन् । रियल म्याड्रिडबाट खेल्ने मोड्रीचले क्रोसियाका लागि अहिलेसम्म १६० खेल खेलेका छन् भने २३ गोल गरेका छन् ।

त्यस्तै टोटनह्यामबाट खेल्ने इभान पेरिसिक, होफेइन् हेइमबाट खेल्ने आन्द्रेज क्रामरिकको भूमिका पनि क्रोसियाका लागि क्वाटरफाइनलमा महत्वपूर्ण हुने देखिन्छ । क्रामारिकले यस विश्वकपमा दुई गोल समेत गरिसकेका छन् ।  


अर्जेन्टिना प्रिभ्यु

अर्जेन्टिना १८औँ पटक विश्वकप खेलिरहेको छ । अहिलेसम्म अर्जेन्टिनाले १९७८ र १९८६ मा दुई पटक विश्वकपको उपाधि जितेको छ ।

अर्जेन्टिना गत विश्वकपमा राउण्ड १६ सम्म पुगेको थियो । फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना लियोनेल स्कालोनीको प्रशिक्षणमा विश्वकप खेलिरहेको छ । अर्जेन्टिनाका पुर्व खेलाडी समेत रहेका ४४ बर्षिय स्कालोनी २०१८ देखि अर्जेन्टिनाको प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा अर्जेन्टिनाले अहिलेसम्म ५६ खेल खेलेको छ र ३७ खेलमा जित हासिल गरेको छ । स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले २०२१ को कोपा अमेरिकाको उपाधि जितेको थियो । अर्जेन्टिनालाई यस विश्वकपको प्रमुख दाबेदार मानिएको छ ।

अर्जेन्टिनाका लागि प्रमुख खेलाडी लियोनेल मेसी हुन् । सम्भवत यो विश्वकप मेसीको अन्तिम विश्वकप हुनेछ । अर्जेन्टिनाको कप्तान समेत रहेका मेसीले अहिलेसम्म १७० खेलमा ९५ गोल गरेका छन् ।

मेसी बाहेक यस विश्वकपमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । मेसीले यस विश्वकपमा अहिलेसम्म ४ गोल गर्दै गोल्डेन बुटको दाबेदारीमा दोस्रो स्थानमा रहेका छन् भने अल्भारेजले २ गोल गरेका छन् ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.