तनहुँ, चैत्र ३ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गरिँदैछ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको छ ।

आँबुखैरेनीदेखि पृथ्वीचोकसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएकोमा यतिबेला सडक विस्तार गर्न दायाँबायाँका रुख धमाधम कटान भइरहेको छ । तनहुँ र कास्कीमा गरेर ५ हजार ८५१ रुख कटान भइसकेको छ । तनहुँमा ६ हजार ७५० र कास्कीमा एक हजार २५० रुख काट्नुपर्नेछ । जसमध्ये तनहुँमा मात्रै पाँच हजार रुख काटिएको हो । कास्कीतर्फ ८५१ रुख काटिएको आयोजनाले जनाएको छ ।

८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको हो । जामुने–पोखरा पश्चिम खण्डको ३८.८८ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको हो । पूर्वको तुलनामा पश्चिम खण्डको कामको गति कम देखिन्छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्डको दुई हजार ८०० रुख कटान गरिएको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार यो खण्डमा चार हजार ६७१ रुख कटान गर्नुपर्नेछ । जामुने पोखरा खण्डको तुलनामा यो खण्डमा केही हदसम्म काम भएको देखिन्छ । रुख कटानसँगै सडक फराकिलो बनाउने काम पनि भइरहेको सुवेदीले बताए । ‘सडक फराकिलो बनाउनेसँगै ग्याबिन जाली राख्ने, पर्खाल लगाउने काम हुँदैछ । कल्भर्ट बनाउन पनि थाल्याछन्’, आयोजना प्रमुख सुवेदी भन्छन्, ’आवश्यकता अनुसार बाटो पुरै फराकिलो कतै पनि भएको छैन । तर फराकिलो बनाउने काम धमाधम भइरहेको छ ।’

जामुने–पोखरा पश्चिम खण्डमा तीन हजार ५१ रुख काटिएको छ । यो खण्ड तनहुँ र कास्की दुई जिल्लामा पर्दछ । तनहुँमा दुई हजार २०० र कास्कीमा ८५१ रुख कटान गरिएको योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । जामुने–पोखरा खण्डको तनहुँतर्फ रुख कटानको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । ‘रुख काट्दा विधुतिय लाइनलाई असर पार्ने बाहेक सबैजसो रुख काटिएको छ’, उनले भने । रुख कटान सकाएर विद्युत लाइन र खानेपानीको पाइप स्थानान्तरण गरेपछि सडक फराकिलो बनाउने काम थालिने स उनको भनाई छ । जामुनेदेखि कुम्लेखोलासम्म १० किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणमार्फत विद्युतको पोल स्थानान्तरण भइसकेको श्रेष्ठले बताए ।

सबै रुख काटेर सकेपछि चार लेन सडक आयोजनाले डिभिजन वन कार्यालयलाई बुझाउनेछ । वन कार्यालयले सडक स्तरोन्नतिका लागि काटिएको काठ लिलामी प्रक्रियाबाट विक्री गर्ने जनाएको छ ।

रुख कटानको काम सुरु भएसँगै पृथ्वी राजमार्गको तनहुँ खण्डमा सवारी जाम बढ्न थालेको छ । रुख कटानकै कारण जिल्लावासी विद्युत् आउने जाने समस्याले आजित छन् । आँबुखैरेनी जामुने खण्डमा सडक फराकिलो बनाउन कटान थालिएसँगै धुलोले यात्रा गर्न सास्ती भएको पाइन्छ ।

गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्ग २०२६ सालमा रेखाङ्कन भएको थियो । सवारी चाप थेग्न नसक्ने अवस्था भएपछि चार लेनको बनाउन सुरु गरिएको हो । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मर्स्याङ्दी जलविद्युत गृह रहेको छ । जलविद्युत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको जनाइएको छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यस्तैगरी जामुने–पोखरा आठ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाइएको हो । चालु आर्थिक वर्षमा संघीय सरकारले मुग्लिन पोखरा चार लेन सडक योजनाका लागी चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार