युवराज विष्ट, भोजपुर, असार २५ । भोजपुरमा सर्प दंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट वञ्चित हुने गरेका छन् । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्ग भङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ ।

यहाँ स्वास्थ्य चौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ । ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्ण रूपमा बन्द छ । स्ट्रेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पुर्‍याउनुपर्ने बाध्यता हुँदा समयमा उपचार नपाएर ज्यान जाने पनि गरेको पाइन्छ ।

प्रायः ग्रामीण भेगका जनता सडक बिग्रेका कारण र समयमै सदरमुकामका अस्पताल पुग्न नसक्दा उपचार गर्न उनीहरूलाई समस्या हुनाका साथै अन्य ठाउँका सुविधा सम्पन्न अस्पताल जान कठिन हुँदै आएको छ । यस्तो अवस्थामा सर्पको टोकाइको उपचार तथा अन्य सामान्य सेवाबाट उनीहरू वञ्चित हुँदै आएका छन् भने समयमै उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाएका घटना पनि छन् ।

सर्पको टोकाइको सामान्य उपचार मात्र जिल्ला अस्पतालमा गर्न सकिने भोजपुर जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र दास बताउँछन् । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै रिफर गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । प्रमुख दास भन्छन्, “जिल्ला अस्पतालमा सामान्य खालको टोकाइको प्राथमिक उपचार हुन्छ । जटिल अवस्थाको यहाँ उपचार सम्भव छैन । त्यस्ता बिरामी आएमा प्राथमिक उपचार पश्चात् बाहिर रिफर गछौँ ।”

सर्पको टोकाइको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका निवासी एकराज विष्ट भन्छन्, “यो समयमा ग्रामीण भेगमा धेरै समस्या छन् । खेतबारीमा काम गर्नै पर्‍यो । काम गर्ने क्रममा ख्याल नगर्दा पनि सर्पले टोक्ने सम्भावना बढी हुन्छ तर यसको उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि त तीनदेखि चार घण्टा हिँडेर स्वास्थ्य चौकी जानुपर्ने अवस्था छ । ”

नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ । तीमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्ग अन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ । विषमा रहेको न्युरोटाक्सिनले स्नायुलाई क्षतिग्रस्त बनाउँछ र कार्डियोटक्सिनले सिधा मुटुमा असर पार्नाका साथै शरीरको आन्तरिक रक्तस्राव भएर बिरामीको मृत्यु हुन्छ ।

केही हदसम्म सावधानी अपनाउन सके सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरूले बताएका छन्। सर्पको टोकाइको सिकार बढी किसान नै हुने गरेका छन् । त्यसपछि बालबालिका र वृद्ध वृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् । सर्प दंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ ।

स्थानीय स्तरमा सचेतना जगाउन सकियो भने र सर्प पक्रनका लागि तालिम प्राप्त मानिस उत्पादन भएमा धेरै सहजता हुने देखिन्छ । सर्प सङ्कलन गरिसके पछि त्यसबाट विभिन्न तत्त्व सङ्कलन गरेर सर्प दंशको उपचारमा प्रयोग गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार करिब ६०० प्रजातिका सर्प विषालु हुने र त्यस्ता सर्पको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ । विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ । असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ ।

गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ । गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन । यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुने चिकित्सकको सल्लाह छ । सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धामी झाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हुँदा मानिसको अकालमा मृत्युसमेत हुने गरेको उनीहरूको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार