मंसिर ३ । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुष चौथो हप्तामा पनि सफलताका साथ प्रदर्शन भइरहेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म शुक्रबारदेखि तेस्रो हप्ता पार गरेर चौथो हप्तामा प्रवेश गरेको हो ।

सामाजिक कथावस्तुमा बनेको कमेडी ड्रामा महापुरुषले बक्स अफिसमा आठ करोडभन्दा बढी कमाइ गरिसकेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म दृश्यम २ का कारण मल्टिप्लेक्सका केही शो कटौती भए पनि पाएका सबै शोमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ ।

शुक्रबारका सबै शोमा ५० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको फिल्ममा शनिबार भने सबैजसो शो हाउसफुल रहेका छन् । समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्म बलियो वर्ड अफ माउथका कारण चौथो हप्तामा पनि दर्शकको उपस्थिति उच्च रहेको हो । यो हप्ता समेत गरी फिल्मले साढे ८ करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् भने रवीन्द्रसिंह बानिया कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार