काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनले थापालाई २ सय मतले पराजित गरेका छन्। लिङ्देनले १८१७ मत ल्याए भने थापाले १६१७ मत ल्याए।
पार्टीको उपाध्यक्ष (खुला) मा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छन्। पाण्डेले २५२१, तामाङले १९४४ र प्रधानले १८१४ मत प्राप्त गरेका छन्।
पराजित उम्मेदवार दिलविकास राजभण्डारीले ११९४, रामचन्द्र राय यादवले ९६७ र जगतप्रसाद गौचनले ८९० मत प्राप्त गरेका छन्। महिला उपाध्यक्षतर्फ पराजित लिलादेवी श्रेष्ठले १०५४ र दुर्गा श्रेष्ठले ८०५ मत प्राप्त गरेका छन्।
महामन्त्री (खुला) तर्फ डा. धवल शमशेर राणा र भुवन कुमार पाठक विजयी भएका छन्। राणाले २२२१ र पाठकले १७०५ मत प्राप्त गरे। पराजित भास्कर भद्राले १५६७ र श्यामप्रसाद तिमिल्सिनाले १०६१ मत प्राप्त गरे। महामन्त्री (महिला) तर्फ कुन्ती कुमारी शाही विजयी भएकी छन्। उनले २००८ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी रेखा थापाले १६४० मत प्राप्त गरिन्।