पीएम कप: बागमतीको सान्त्वना जित

पुस ६ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सान्त्वना जित हात पारेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा समूह ‘ए’ को अन्तिम खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७९ रनले पराजित गरेको हो । यस अघि लगातार दुई खेलमा पराजय भोग्दै बागमती र कर्णाली प्रतियोगिताबाट बाहिरिसकेका थिए ।

कर्णालीको भने यो लगातार तेस्रो पराजय हो । मंगलबारको खेलमा १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ दशमलब ३ ओभरमा अलआउट हुदै ५१ रन मात्र जोड्न सक्यो ।

कर्णालीका लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन । बागमतीका लागि विपिशा शाही र आरती बिडारीले समान ३–३ विकेट हात पारिन्। क्यानुका बस्नेत, सोनी पाख्रिन र खुसी डंगोलले एक–एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३० रन जोडेको थियो । बागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रनको योगदान गरिन् ।

हेलिसा गुरुङले २५ तथा कप्तान अस्मिना कर्माचार्यले १६ रनको योगदान गरे । कर्णालीका लागि दिब्या धामीले सर्वाधिक ३ विकेट हात पारिन् । अन्जीला क्षेत्रीले २ तथा निशा पराजुलीले १ विकेट हात पारे ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.