चितवन, २१ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गरेसँगै पार्टीमा तरङ्ग सिर्जना भएको छ । राप्रपा निवर्तमान अध्यक्ष थापाले अलग भएको घोषणा गरेसँग पार्टीको साँगठनिक संरचनाहरुमा समेत असर देखिन थालेको छ । राप्रपा चितवन कालिका नगरपालिकाका अध्यक्ष दुर्गा प्रसाद भट्टराई (आशिष)ले पनि राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा चितवन कालिका नगरपालिका नगर अध्यक्ष समेत रहेका युवा नेता आशिष भट्टराईले शनिवार सामाजिक सञ्जाल मार्फत राजिनामा सहित पार्टी परित्याग गरेको घोषणा गरेका छन् । भट्टराई कमल थापा पक्षधरका निकट चितवनका प्रभावशाली नेताका रुपमा मानिदै आएका थिए ।