रत्ननगरमा कांग्रेसबाट को को छन् मेयरको दौडमा ?

प्रकाशबाबु खनाल, चितवन ।

स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा नयाँ जनप्रतिनिधिहरुका लागि दौड सुरु भएको छ । रत्ननगरको नेतृत्वको दौडमा पुग्न सत्तारुढ कांग्रेसको आकांक्षीहरुको चर्चा सुरु भएको छ । आगामी बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचनबाट रत्ननगर नगरपालिकाको मेयर पदका लागि हालका सभापति सहित निवर्तमान सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, तथा पूर्व क्षेत्रीय सभापतिहरुको चर्चा सुरु भएको छ ।

को को छन् चर्चामा ?

प्रह्लाद सापकोटा र रुपनराज घिमिरे

२०५४ साल र २०७४ सालको स्थानीय निर्वाचनमा रत्ननगर नगरपालिकाको मेयर तथा उपमेयर पद कांगे्रसले गुमाएको थियो । आगामी स्थानीय निर्वाचनमा सभापति प्रह्लाद सापकोटा र निवर्तमान सभापति रुपनराज घिमिरेको नाम चर्चामा छ । नेपाली कांग्रेसको १४ औ अधिवेशन ताका आफूँ मेयरमा नउठ्ने सापकोटाले बताएका थिए । हाल सभापतिमा निर्वाचित सापकोटाले निर्वाचन जित्न आफूँलाई नै मेयरमा उठ्न कांग्रेसी जनता तथा कार्यकर्ताबाट सल्लाह सुझाव आएको बताएका छन् । सामाजिक अभियान्ताका रुपमा पनि स्थापित सापकोेटा युवाहरु माझ लोकप्रिय छन् । आवश्यकता अनुसार पिडित नागरिकलाई सहयोग गर्न तयार रहन्छन् । सहयोगको लागि दानवीरका रुपमा पनि चिनिएकाले सापकोटाले अन्य पार्टीको मत समेत खाने विष्लेशकहरु बताउँछन् । सापकोटा संस्थापन पक्ष निकटका मानिन्छन् ।

विगतमा केही समय नगर कोषाध्यक्ष समेत रहेका घिमिरे लगातार दुई कार्यकालसम्म अधिवेशनमा सभापतिमा निर्वाचित व्यक्ति हुन् । गत २०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा प्रतिस्पर्धी घिमिरे पराजित भएपनि पार्टी भित्र बौद्धिक र प्रखर वक्ताको रुपमा चिनिन्छन् । सबैसँग चाँडै घुलमिल हुन सक्ने घिमिरे रत्ननगरमा कांग्रेसको सवलीकरणका लागि पछि नहट्न कार्ताकर्ताले सल्लाह दिएको बताउँछन् । घिमिरे संस्थापनईतर निकटका मानिन्छन् ।

मेयरमा कांग्रेसबाट माधव अर्याल र भेषराज दुवाडीको नाम पनि उस्तै चर्चामा छ । अर्याल २०७४ सालको स्थानीय निर्वाचनमा पनि कांग्रेसबाट मेयर पदका लागि निकटका दावेदार थिए । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका अर्याल पार्टीमा योगदान दिने तर अवसर नपाउने व्यक्तिको रुपमा चिनिन्छन् । शालीन व्यक्तिको छवि बनाएका अर्याल गत स्थानीय निर्वाचनमा अन्तिम समयमा टिकट पाउन बाट बञ्चित रहेका थिए । यस पटक आफूँले टिकट पाउनुपर्ने आमकार्यकर्ताको न्यायिक मत रहेको अर्यालको दाबी छ । अर्याल संस्थापन निकटका मानिन्छन् ।

माधव अर्याल र भेषराज दुवाडी

सामान्य किसान परिवारमा जन्मिएका भेषराज दुवाडी हाल राजनीतिमा मात्र होइन स्थापित व्यवसायीको रुपमा पनि चिनिन्छन् । गत स्थानीय निर्वाचनमा समेत जनस्तरमा उहाँको नाम मेयरको लागि चर्चामा थियो । १४ औ महाधिवेशनमा यस क्षेत्रबाट सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए पछि उहाँको मेयरमा चर्चा पुनः चुलिएको छ । धेरै जसो सामाजिक तथा व्यवसायिक संघ–संथामा समेत उहाँको आबद्धताले उहाँ लोकप्रिय रहेको विष्लेशकहरु बताउँछन् । गत अधिवेशनमा प्राप्त मतको संम्मान गर्न पनि आमकार्यकर्ताले फोन, म्यासेज तथा भेटघाटको क्रममा मेयरमा उठ्न आफूँलाई सल्लाह दिएको दुवाडीको भनाई छ । गत अधिवेशनमा सुरुमा कुनै पनि विचार समूहमा नपरेका दुवाडी अन्तिम समयमा संस्थापनईतर समूहमा अटाएका थिए ।

गोविन्द गौतम

हालका चितवन क्षेत्र नं. १ (ख) का निर्वाचित सभापति गोविन्द गौतम पनि मेयर पदका लागि दौडमा छन् । २०७४ सालको स्थानीय निर्वाचनमा उहाँको नाम पनि केन्द्रमा पठाइएको थियो । गौतम कानुनका विद्यार्थी समेत हुन् । गौतम तल्लो मैदानबाट नै कृयाशील हुँदै क्रमिक रुपमा नेतृत्वमा स्थापित व्यक्ति हुन् । पाका, युवा सबैको माझमा गौतम परिचित छन् । १४ औ अधिवेशनमा संस्थापनइतरबाट नगर सभापतिमा आकांक्षा राखेका गौतम बाहिरिए पछि संथापन प्यानलबाट क्षेत्र नं.१ प्रदेश (ख) मा सभापतिमा उम्मेद्वारी दिएका थिए । पार्टी भित्र गरेको योगदानले नै कार्यकर्ताले न्याय गरेको बताउने गौतम आफ्नो अनुभव र योगदानका कारण साथीहरुले नगरप्रमुखमा उठ्न सुझाव दिएको बताउँछन् ।

मेयर पदमा बासुदेव ढुङ्गाना, सरोज कुँवर र उमेश गिरिको नाम पनि चर्चामा छ । ढुङ्गाना बौद्धिक र तार्किक क्षमता भएका व्यक्तिको रुपमा स्थापित छन् । हाल उनी महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचित हुन् । हाल महासमिति सदस्यमा समेत निर्वाचित ढुङ्गाना सामाजिक संघ–संथामा समेत रहेर लामो समय काम गरेका प्रखर वक्ताका रुपमा समेत चिनिन्छन् । स्थानीय श्रोत साधनको परिचालन, अन्तर्राष्टिय संघ–संथासँग समन्वय गर्दै शान्ति, विकाश र सुसाशनको पक्षमा भिजन सहित काम गर्न ढुङ्गाना सबल मानिन्छन् । पर्यटन व्यवसायी समेत रहेका ढुङ्गाना पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्ने क्षमता आफूसँग भएकाले शुभचिन्तकहरुले मेयरका लागि अघि बढ्न सल्लाह दिएको बताउँछन् ।

सरोज कुँवर, उमेश गिरि र बासुदेव ढुङ्गाना

सरोज कुवँर पनि मेयरका टिकटका लगि उस्तै दावेदर पात्र हुन् । १५, १६ वर्षकै उमेरबाट राजनीतिमा प्रवेश गरेका कुवँर विद्यार्थी राजनीतिमा पनि स्थापित नेतृत्व हुन् । विगतमा जिल्ला सदस्य हुँदै युवा परिचालन समितिको संयोजक समेत सम्हालिसकेका कुँवरले टेक प्रसाद गुरुङको पालमा कार्यबाहक जिल्ला सभापति समेत चलाएका थिए । विद्यार्थी जीवनमा रत्नराज्यलक्ष्मी क्याम्पस बानेश्वरको स्ववियु सभापति समेत रहेका कुँवर शहीद परिवार पनि हुन् । १४ औ महाधिवेशनमा केन्द्रीय प्रतिनिधिमा निर्वाचित कुँवर महासमिति सदस्यमा पनि निर्वाचित हुन् । युवा व्यवसायीको रुपमा समेत स्थापित कुँवर पार्टीमा दिएको योगदान र आबद्धताको हिसावले परिचित छन् । योगदानको हिसावले सबै प्रकारबाट मेयर पदको लागि योग्य रहेको भनी शुभचिन्तकहरुले पछि नहट्न सल्लाह दिएको कुँवरको भनाई छ ।

मेयरको दौडका अर्का व्यक्तिको नाम हो उमेश गिरी । गिरि स्थापित व्यवसायी पनि हुन् पाटी भित्र बौद्धिक, शैक्षिक, तार्किक र प्रखर वक्ताका रुपमा चिनिएका गिरि क्षेत्रीय प्रवक्ता हुँदै हाल क्षेत्रीय सचिवमा निर्वाचित हुन् । छिट्टै सबैसँग घुलमिल हुन सक्ने स्वभावले गिरि विशेष युवा, पाका माझ प्रिय छन् । स्थानीय तहका अधिकृतहरुसँग वादप्रतिवाद गर्न सक्ने क्षमता र शैक्षिक योग्यता आफूसँग भएकाले मेयरको लागि अगाडि बढ्न शुभचिन्तकहरुले सुझाव दिएको गिरीको भनाई छ ।

दिवाकर अर्याल

मेयरका लागि दौडमा रहेका अर्का व्यक्ति दिवाकर अर्याल हुन् । अर्याल विगत १५ वर्ष अगाडि बाट प्रध्यापन पेशासँगै राजनीतिमा पनि सक्रिय छन् । कानुनका विद्यार्थी समेत रहेका अर्याल नेपाल बार चितवनका पूर्व सदस्य पनि हुन् । भरतपुर सरकारी अस्पतालका पूर्व कानुनी सल्लाहकार रहेका अर्याल १४ औं अधिवेशनमा नगर सभापतिको लागि चर्चामा पनि थिए । महाधिवेशनमा केन्द्रीय प्रतिनिधिमा निर्वाचित अर्याल भद्र तथा वैचारिक कुशलता भएका व्यक्तिको रुपमा चिनिन्छन् । रत्ननगरको राजनीतिमा शैक्षिक व्यक्तिको खाँचो रहेकाले पूर्णकालीन रुपमा राजनीतिमा आई मेयरमा उठ्न शुभचिन्तकहरुले सल्लाह दिएको अर्यालको भनाई छ ।

महेश प्रसाद रौनियार

महेशप्रसाद रौनियर पनि मेयर पदका लागि आकांक्षी हुन् । रौनियर रत्ननगरका पुराना नेता हुन् । माओवादीको युद्धताका नगर सभापतिको रुपमा कांग्रेसको अस्तित्व जोगाउने साहसी नेताको रुपमा पनि रौनियर चिनिन्छन् । मधेशी समुदाएको भए पनि पहाडी समुदायका बीचमा उनी लोकप्रिय छन् । सबैका आदरणीय छन् । हालको रत्ननगरको मजबुद संगठनको निर्माणमा पूर्व सभापति रौनियरको योगदान रहेको पुराना कांग्रेसहरु बताउँछन् । हाल रौनियर महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेश कमिटी सदस्यमा निर्वाचित पनि हुन् । सबै साथीहरुसँग सल्लाह भैरहेकाले आगामी नगर निर्वाचनमा मेयरको लागि सबै काँग्रेसीहरुले आफूँलाई साझा बनाउने रौनियारको भनाई छ ।

महिलातर्फ निता ढकाल र गिता देवकोटा

निता ढकाल / गिता देवकोटा

ढकाल गत स्थानीय निर्वाचनमा उपमेयरको प्रत्यासी हुन् । क्षेत्रीय प्रवक्ता, जिल्ला प्रवक्ता, तरुण जिल्ला समितिजस्ता जिम्मेवारी सम्हालिसकेकी ढकाल हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन् । समग्र दाजुभाइ महिला दिदीबहिनीहरुले मेयरमा उठ्न सल्लाह दिएको ढकालको भनाइ छ । गिता देवकोटा पुरानो महिला नेतृ हुन् । दुई पटक सम्म महाधिवेशन प्रतिनिधिमा निर्वाचित देवकोटा हाल महासमिति सदस्यमा समेत निर्वाचित हुन् । पुरानो र योगदानको हिसावले यस पटकको मेयरमा उठ्न शुभचिन्तकहरुले सल्लाह दिएको देवकोटा बताउँछिन् ।


नेपाली कांग्रेसको विधानमा सहमति नभए मेयरको लागि एक महिला सहित ३ जनाको नाम नगर, क्षेत्र हुँदै अन्त्यमा प्रदेश समितिले टुङ्ग्याउने छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.