प्रकाशवावु खनाल, चितवन
स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा नयाँ जनप्रतिनिधिहरुका लागि दौड सुरु भएको छ । खैरहनी नगरपालिकाको नेतृत्वको दौडमा पुग्न सत्तारुढ कांग्रेसको आकांक्षीहरुको चर्चा सुरु भएको छ । आगामी बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचनबाट खैरहनी नगरपालिकाको मेयर पदका लागि हालका निवर्तमान सभापति, महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि तथा पूर्व क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुको चर्चा सुरु भएको छ ।
को को छन् चर्चामा ?
२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले खैरहनी नगरपालिका गुमाएको थियो । आगामी स्थानीय निर्वाचनमा हालका सभापति गुणराज श्रेष्ठले अझै मुख खोलेका छैनन् । नगर अधिवेशनताका उनले मेयरमा नउठ्ने बरु साथीहरुलाई उठाएर जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए । शशी खनिया, कुमार कार्की, राजेन्द्र चौधरी, सरोज बर्तौला, राममणी न्यौपाने, राजु सिलवाल, सुशीला उप्रेती र जोखा चौधरी विशेष चर्चामा छन् ।
शशी खनीया निवर्तमान खैरहनीका सभापति हुन् । गत अधिवेशनमा झिनो मतान्तरले उनी पछि परेका थिए । खनिया पूर्वी चितवनको उदाउँदो नेता हुन् । खैरहनी खानेपानी, कंकाली सामुदायिक वन, उद्योग वाणिज्य संघ खैरहनी जस्ता सामाजिक संस्थाहरुमा सल्लाहकार बनेका खनिया नेपाल विद्यार्थी संघबाट नै राजनीति सुरु गरेका पात्र हुन् । नेविसंघ , तरुण दलबाट जिल्ला कमिटिमा काम गरिसकेका खनिया नेपाली कांग्रेस खैरहनीका संस्थापक सभापति समेत हुन् । गत स्थानीय निर्वाचनमा मेयरको लागि उनको नाम केन्द्रमा पनि पुगेको थियो । खनिया युवा, पाकाका लागि प्रिय मानिन्छन् । अधिवेशनमा पराजित भए पनि खनियाको खैरहनीमा राम्रो पकड रहेको वडा अधिवेशनको परिणामबाट देखिएको विषलेशकहरु बताउँछन् ।
कुमार कार्की मेयरका लागि अर्का आकांक्षी हुन् । कार्की हाल महाधिवेशन प्रतिनिधि हुन् । २ कार्यकालसम्म क्षेत्रीय सभापति निर्वाचित कार्की राजनीति शात्रका विद्यार्थी समेत हुन् । विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्रध्यापन पनि गरेका कार्की २०५४ सालको स्थानीय निर्वाचनमा पनि अध्यक्षमा उठी झिनो मतान्तरले पराजित हुनुभएको थियो । गत स्थानीय निर्वाचनमा पनि कार्कीको नाम मेयरका लागि केन्द्रमा पुगेको थियो । सबैसँग छिट्टै घुलमिल हुन सक्ने कार्कीको क्षमता छ । शालीन, शिक्षित तथा तार्किक व्यक्तित्वको छवि बनाएका कार्की योगदानका हिसावले मेयरका लागि पछि नहट्न साथीहरुले सुझाव दिएको बताउँछन् ।
राजेन्द्र चौधरी र शरदकुमार बर्तौला पनि मेयरको टिकटका लागि दावेदार पात्र हुन् । राजेन्द्र चौधरी गत स्थानीय निर्वाचनमा मेयरका निकटतम प्रतिस्पर्धी थिए । नेपाल विद्यार्थी संघबाट साजनीति सुरु गरेका चौधरी २ कार्यकालसम्म जिल्ला सदस्यमा निर्वाचित हुन् । आदिवासी जनजातिको तर्फबाट महाधिवेशन प्रतिनिधि रहेका चौधरी निर्वाचित पूर्व वडा अध्यक्ष पनि हुन् । जनआन्दोलनका घाइते समेत रहेका चौधरी इमान्दार नेताका रुपमा स्थापित छन् । कांग्रेसलाई जिताउनका लागि कार्यकर्ताले मेयरबाट पछाडि नहट्न सुझाव दिएको चौधरी बताउँछन् ।
मेयरका लागि अर्का बलिया दावेदार शरदकुमार बर्तौला हुन् । बर्तौला भुवानी शंकर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख पनि हुन् । पूर्व जिल्ला सदस्य समेत रहेका बर्तौला नेपाल रेडक्रस सोसाइटी, जिल्ला सहकारी संघ जस्ता सामाजिक संस्थाको पदाधिकारीमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् । महाधिवेशन प्रतिनिधि समेत रहेका बर्तौला शहीद स्मृति बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव समेत हुन् । बर्तौला शैक्षिक, बेौेद्धिक, तार्किक र प्रखर वक्ताका रुपमा स्थापित छन् । आगामी स्थानीय निर्वाचनमा मेयरमा उठ्नका लागि शुभचिन्तकहरुले सुझाव दिएको बर्तौलाको भनाई छ ।
राजु सिल्वाल र राममणी न्यौपाने पनि मेयरका लागि आकांक्षी छन् । क्षेत्रीय सभापति २ कार्यकालसम्म रहेका सिलवाल पूर्व जिल्ला सदस्य समेत हुन् । कुमरोज सामुदायिक वनका पूर्व अध्यक्ष समेत रहेका सिलवाल कुमरोज रेडक्रस उपशाखाका अध्यक्ष पनि हुन् । सिलवाल प्रखर वक्ताका रुपमा परिचित छन् । तत्कालीन समयमा वैचारिक राजनीतिका कारणले माओवादीको आक्रमणमा परी घाइते समेत बनेका थिए । कांग्रेसको साख जोगाउनका लागि आम कार्यकर्ताले मेयरमा उठ्न सुझव दिएको सिलवालको भनाई छ ।
राममणी न्यौपाने मेयरका लागि अर्का आकांक्षी हुन् । शिक्षण पेशाबाट राजनीतिमा लागेका न्यौपाने स्थापित व्यवसायी समेत हुन् । साविक चैनपुरका सभापति समेत रहेका न्यौपाने कंकाली समुदायिक वनका २ कार्यकालसम्म निर्वाचित अध्यक्ष समेत हुन् । रोटरी क्लव चितवनका पूर्व चार्टर्ड प्रेसिडेण्ट न्यौपाने कुनाघारी आधारभुत विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुन् । लोकप्रियताका हिसावले कंकाली वनको निर्वाचनमा निर्वाचन परिणमलाई हेर्दा न्यौपाने अब्बल मानिन्छन् । सामाजिक क्षेत्रमा समेत सकृय देखिने न्यौपानेले विपक्षहरुको समेत मत खाने विश्लेषकहरु बताउँछन् । एक पद एक जिम्मेवारी नै आफ्नो मान्यता भएकोले अधिवेशनमा क्षेत्रीय प्रतिनिधि आएर कुनै पनि पदमा उम्मदेवारी नदिएको न्यौपानेको भनाई छ । यसपटकको स्थानीय निर्वाचनमा खैरहनीबाट सबै आकांक्षी साथीहरुले आफ्नै नाममा सर्वसम्मत निर्णय गर्ने न्यौपानेको विश्वास छ । शालीन व्यक्तिको छवि बनाएका न्यौपाने सबैसँग छिट्टै घुलमिल हुन सक्छन् । युवा पाका सबैमा प्रिय देखिएका उनी इमान्दर कार्यकर्ताहरुको सुझवलाई स्वीकार्दै मेयर पदको लगि अगाडि बढेको बताउँछन् ।
सुशीला उप्रेती पुरानो महिला नेतृ हुन् । लामो समय नेपाली कांग्रेसको जिल्ला सदस्य रहेकी उप्रेती महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य समेत हुन् । महिला संघको पूर्व जिल्ला सभापति समेत रहेकी उप्रेती महिला संघको पूर्व केन्द्रीय सदस्य समेत हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा उपमेयरको प्रतिस्पर्धी उप्रेती पाट्टी भित्र लामो संघर्ष र योगदान गर्ने महिलाको रुपमा परिचित छिन् । यस पटकको स्थानीय निर्वाचनमा समग्र दाजुभाइ दिदीबहिनीहरुले मेयरमा उठ्न सुझाव दिएको उप्रेतीको भनाई छ । कांग्रेको विधान अनुसार सहमति नभए एक महिला सहित सिफारिस गरी पठाइएको ३ जना बाट एक जनाको नाममा बागमति प्रदेश समितिले निर्णय गर्ने छ ।
जोखा चौधरी विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक सँगै नेपाली काँग्रेसमा समायोजन भएका हुन् । उनी पूर्वी चितवनका पुराना नेता हुन् । आगामी स्थानीय निर्वाचनमा खैरहनीको मेयर पदमा पनि उहाँको आकांक्षा रहेको छ ।