आगामी स्थानीय निर्वाचनमा कालिका वडा नं. ७ को एमालेबाट रामलाल कुमालले आकांक्षा राखेका छन् । आइतवार पत्रकारहरुको प्रश्नमा कुमालले संक्षिप्त उत्तर दिदै कार्यकर्ता साथीहरुले अध्यक्षमा उठ्न सल्लाह दिएको बताए । यद्यपि यस वडामा एमालेको तर्फबाट मात्रै आधा दर्जन भन्दा बढि वडाध्यक्षका आकांक्षीहरु रहेका छन् । “म जनताको सेवक हुँ, जनताको सुझावको संम्मान गर्छु” कुमाल भन्छन् “जनताको सेवा गर्नु नै मेरो धर्म हो ।” पार्टीले टिकट दिए वडा अध्यक्षमा उठ्न तयार रहेको कुमालको भनाई छ ।
को हुन् कुमाल ?
कुमालको जन्म २०३४ साल बैशाख ५ गते भएको थियो । उनी अल्पसंख्यक सीमान्तकृत समुदायका व्यक्ति हुन् । उनी निडर र हक्की स्वभावका छन् । कुमाल कम बोल्ने र धेरै सुनेर कर्मी मौरी झैं काम गर्ने ईमान्दार व्यक्तिको रुपमा परिचित छन् । तनहूँ व्यास नगरपालिकामा रहेको तत्कालीन उदय प्रा.वि, जनजुत्त मा.वि. हुँदै पृथ्वी मा.वि., भटेनीबाट उनले एस.एल.सी पास गरेका थिए । स्नातकसम्म अध्यायन गरेका कुमाल एक सच्चा कम्युनिष्ट आचरण भएका व्यक्तिका रुपमा परिचित छन् । कम्युनिष्ट आन्दोलनमा देखिएको पूँजीपति बन्ने होडका विरुद्ध उनको जीवनशैली साधारण छ । बाढीको प्रकोप पछि सुकुम्वासी बनेका कुमालको बसाई अझै पनि अव्यवस्थित नै छ । रुढीवादी परम्परा तोड्दै अन्तरजातीय विवाह गरेका कुमाल कुरामा भन्दा काममा बढी लगनशील छन् । किराना होलसेल पसल, कुखुराको मासु पसल, ग्याँसको पसल हुँदा हुँदै पनि आवश्यकता अनुसर नगरवासीको समस्यामा टुप्लुक्क पुगीहाल्छन् । राज्यको मूल प्रवाहबाट पछि परेको आफ्नो समुदायलाई मात्र होइन समग्र नगरवासीको मनमा बस्न पनि कुमाल सफल भएका छन् । गत स्थानीय निर्वाचनमा कालिका नगरपालिका कार्यपालिका सदस्यमा निर्वाचित भएपछि त उनको समाजसेवामा देखिएको उपस्थितिले झन् जनमनमा बस्न सफल भएका छन् । आकांक्षा सबैको भए पनि एमाले व्यक्ति होइन संस्था भएकोले पार्टीलाई जिताउनु मुख्य उद्धेश्य रहेको कुमालको भनाई छ ।
राजनैतिक यात्रा
कुमाल राजनीतिमा चाकडीबाजको विरोध गर्छन् । काम अनुसार सबैले समान अवसर पाउनुपर्ने उनको मान्यता रहेको छ । विद्यार्थीकालदेखि नै उनी राजनीतिमा सकृय थिए ।अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति सुरु गरेका उनी नेपाल किसान महासंघको जिल्ला सदस्य पनि हुन् । जनसाहित्य मञ्च चितवनका सदस्य रहेका कुमाल सोही संस्थाको कालिका नगरपालिकाको संयोजक पनि हुन् । सर्वोच्चको निर्णयपछि पार्टीलाई संकट परेको अवस्थामा अध्यक्षको रुपमा रहेर पार्टीको शाखलाई उनले जोगाएर राखेका थिए । हाल १० औ महाधिवेशन पछि उनी नगर कमिटि सदस्य समेत रहेका छन् । पार्टीको अग्रमोर्चामा रहेर खटिने कुमाल जनआन्दोल ०६२र०६३ मा सकृयताका साथ सरिक थिए ।
सामाजिक सम्बन्ध
कुमाल नेपाल रेडक्रसका आजीवन सदस्य हुन् । कालीगण्डकी साहित्य परिषदका बरिष्ठ उपाध्यक्ष रहेका उनी कालीगण्डकी साहित्य परिषद्द्वारा प्रकाशोन्मुख कृति कैलाशका प्रकाशन समितिका संयोजक पनि हुन् । प्रतीक्षा किरानाका प्रोपाइटर रहेका उनी बाढीपीडित तथा सुकुम्वासी संघर्ष समितिका सदस्य पनि हुन् । उनी नेपाल कुमाल समाज सुधार समिति कालिका इकाइका सल्लाहाकार समेत छन् ।
व्यक्तित्व
रामलाल एक नैतिकवान व्यक्तिका रुपमा परिचित छन् । नेतृत्वदायी क्षमता भएका कुमाल सामाजिक क्षेत्रका निष्कलंक व्यक्ति हुन् । अल्पसंख्यक सीमान्तकृत समुदायबाट अघि बढ्दै सामाजिक अभियान्ताका रुपमा परिचित कुमाल सबैसँग सजिलै घुलमिल हुन सक्छन् । असल स्वभाव कै कारण उनले विपक्षीहरुको समेत भोट खाने विश्लेषकहरु बताउँछन् । घर व्यवहार र व्यवसाय परिवारलाई जिम्मा लगाई पूर्णकालीन रुपमा अब जनसेवामा लाग्ने उनले बताए ।