प्रकाशबाबु खनाल, चितवन ।
स्थानीय निर्वाचन नजिकिएसँगै उम्मेदवारीको लागि आकांक्षीहरुले आकांक्षा व्यक्त गर्ने क्रम बढ्दै गएको छ । शनिवार पत्रकारहरुको प्रश्नमा छोटो प्रतिकृया दिदैँ सरोज कुँवरले जनताको सुझावलाई सम्मान गर्ने बताए । “मैले पार्टीमा ठुलो योगदान गरेको छु ” कुवँर भन्छन् “कांग्रेसी जनताले मेयरमा उठन् मलाई सुझाव दिनु स्वभाविक हो ”।
को हुन् सरोज कुँवर ?
कुँवर माओवादी द्वन्द्वकालमा माओवादीबाट मारिएका नेपाली कांग्रेसका ईमान्दार नेता स्वर्गीय कृष्ण बहादुर कुँवरका जेठो छोरा हुन् । यस हिसावले उनी शहीद परिवार हुन् । तर यतिमा नै उनको परिचय सीमित गरियो भने उनी माथि अन्याय हुन्छ । उनी आफैँमा एक कांग्रेसका योद्धा हुन् । २०२४ सालमा जन्मिएका कुँवरले भानु मेमोरियल काठमाण्डौंबाट प्रथमिक शिक्षा सुरु गरेका थिए । राजनैतिक यात्रा तत्कालीन जनजागृति माध्यमिक विद्यालयबाट नेविसंघको राजनीति सुरु गरेका उनले साविक पिठुवा गाविसको २ कार्यकालसम्म सभापति चलाएका थिए । ११ औ महाधिवेशनमा जिल्ला समितिमा निर्वाचित कुँवर युवा परिचालन समितिको संयोजक हुँदै टेक बहादुर गुरुङको पालामा कार्यबाहक जिल्ला सभापति समेत चलाएका थिए । हाल उनी महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा समेत निर्वाचित हुन् । नेपाली कांग्रेसप्रति प्रतिवद्ध भएकै कारणले तत्कालीन समयमा राज्यबाट आतंककारी घोषित माओवादीले उनको पितालाई घरमा नै गएर चरम यातना दिई हत्या गरेको थियो । पिताको हत्या पछि सरोज झन् बढी सकृयताका साथ पार्टीमा प्रतिवद्ध भएर लागि परे । कम बोल्ने र धेरै सुन्ने बानी भएका उनी विशेष युवा पाकाको माझमा प्रिय छन् । युवा व्यवसायीको रुपमा समेत स्थापित कुँवर पार्टीमा दिएको योगदान र आबद्धताको हिसावले परिचित छन् । योगदानको हिसावले सबै प्रकारबाट मेयर पदको लागि योग्य रहेको भनी शुभचिन्तकहरुले पछि नहट्न सल्लाह दिएको कुँवरको भनाई छ ।
सामाजिक सम्बन्ध
लायन्स क्लव, जेसिज, रेडक्रस जस्ता सामाजिक संस्थामा उनको आबद्धता रहेको छ । उनी जिल्ला खेलकुद समिति चितवनका पूर्व सदस्य पनि हुन् । भलिबलका अन्तर्राष्टिय खेलाडी समेत रहेका कुँवरको सम्मान पत्र, प्रशंशा पत्र, कदर पत्र, शिल्ड, मेडलहरुले भित्ता रर्याकहरु भरिएका छन् ।
व्यवसाय
हल उनी जयकाली रोडा ढुङ्गा उद्योग, स्वस्तिक क्रसर उद्योग र सेन्टर प्वइन्ट होटल कुरिनटारका संचालक समेत छन् ।
विदेश भ्रमण
कुँवरले पूर्वी जर्मनी, पश्चिम जर्मनी, रसिया,थाईल्याण्ड, दुवई ,हङकङ, मलेसिया, इण्डोनोसिया लगायत १ दर्जन भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन् । विदेश भ्रमणबाट विकासका मोडलहरुलाई र प्राप्त अनुभवलाई प्रयोग गरी रत्ननगर र रत्ननगरवासीहरुको समृद्धीमा लाग्न सक्ने अनुभव आफुसँग भएको कुँवरको भनाई छ ।